नियम १८
सुरक्षण लेखको निरन्तरता
: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पशु प्रजननको फार्म सञ्चालन गर्ने व्रिडर कृषकले सुरक्षित पशुधनको सुरक्षण लेखको अवधि समाप्त हुनु अगावै सदस्य संस्थाको पूर्व स्वीकृति लिएर पशुधन बिक्री गरी वा अन्य कुनै किसिमले हक छाडी दिएमा त्यस्तो पशुधन खरिद गर्ने वा हक प्राप्त गर्ने ब्रिडर कृषकले सो पशुधनको सुरक्षण लेखको बाँकी अवधिको लागि निरन्तरता दिन चाहेमा नियम ११ बमोजिमको सुरक्षण शुल्क सहितको नियम ७ को खण्ड (क) बमोजिमको सहमतिपत्र सम्बन्धित सदस्य संस्थामा पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बिक्री गरी वा अन्य कुनै किसिमले हक छाडी दिएको पशुधनको सुरक्षण लेखलाई निरन्तरता दिन मनासिब देखिएमा सदस्य संस्थाले त्यसरी हक छाडीदिएको मितिमा सुरक्षणकर्ताको कर्जा खातामा बाँकी देखिएको कर्जा रकम (सावाँ र व्याज) र शुरुको सुरक्षण लेखमा अंकित सुरक्षण रकममध्ये जुन कम हुन्छ सो रकमलाई पशुधनको सङ्ख्याले भाग गर्दा प्रति पशुधन हुन आउने रकमसम्मको हद कायम गरी त्यस्तो सुरक्षण लेखलाई बाँकी अवधिसम्म निरन्तरता दिन कोषमा लेखी पठाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम लेखी पठाउँदा सदस्य संस्थाले आफुले दिएको स्वीकृती पत्र, सुरक्षण शुल्क बुझाएको प्रमाण र व्रिडर कृषकको सहमतिपत्र संलग्न गरी कोषमा पठाउनु पर्नेछ । (४) उपनियम (३) बमोजिम लेखी आएमा र व्यहोरा जाँचबुझ गर्दा मनासिब देखेमा कोषले त्यस्तो सुरक्षण लेखलाई निरन्तरता दिई सोको जानकारी सात दिनभित्र सम्बन्धित सदस्य संस्थालाई दिनु पर्नेछ ।